काठमाडौं । निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुरलाई नयाँ दल दर्ताका लागि भदौ ९ गते पार्टी सनाखतको लागि बोलाएको छ । शुक्रबार आयोगले नेपाल नेतृत्वले दल दर्ताका लागि प्रस्ताव गरेको नेकपा एकीकृत समाजवादी र ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी सनाखत गर्न भदौ ९ गते बोलाइएको आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिए ।
आयोगको शुक्रबार बसेको बैठकले दुवै दललाई भदौ ९ गते सनाखतका लागि बोलाउने निर्णय गरेको सहायक प्रवक्ता धमलाले बताउनुभयो । शुक्रबार नेपाल पक्षले नेपाल कमयुनिष्ट पार्टी (एकीकृत समाजवादी) र ठाकुर पक्षले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल राखेर आयोगमा निवेदन दर्ता गरेको थिए । सोहि प्रस्तावित दलका नेता र सांसदहरुलाई हस्ताक्षर गर्न भदौ ९ गते बुधबार बिहान साढे ११ बजेदेखि २ बजेसम्म समय छुट्याएको जानकारी उनले दिए ।