विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर २ स्थित यादव टोल नजिक सोमबार साँझ एक गोली हानाहान भएको छ। स्थानीय अनुसार घटना रा.सी जाने बाटोमा घटेको हो। गोली लागेर तीन जना घाइते भएका छन् । घाइते मध्ये एकजनाको अवस्था गम्भीर छ।
घटनामा देवानगञ्ज गाउँपालिका वडा नम्बर १ निवासी बद्री यादवका छोरा करिब २४ वर्षीय रविन्द्र यादव, शिवु मेहता, र विनोद यादवका १८ वर्षीय छोरा पिन्टु यादव घाइते भएका हुन्। पेटमा गोली लागेका शिवु मेहताको अवस्था गम्भीर रहेको र उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको छ।
प्रहरी अनुसन्धानका अनुसार गोली प्रहार गर्ने व्यक्तिहरूमा कामेश्वर यादव, उनका छोरा जयकृष्ण यादव, र भारतीय नागरिक राजा पासवान रहेको घाइतेले बताएको छ ।
हालसम्म घटनाको कारण स्पष्ट नभए पनि पुरानो रिसइबीका कारण योजनाबद्ध रुपमा आक्रमण भएको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।