विराटनगर । न्यूरो अस्पतालले अत्याधुनिक मोडुलर अपरेशन थिएटर (OT) को उद्घाटन गरेको छ। आज मोडुलर अपरेसन थिएटर उद्घाटन गर्दै यो नयाँ प्रणालीले एकै समयमा पाँच वटा शल्यक्रिया गर्न सक्ने क्षमता राख्नेछ, जसले बिरामीलाई छिटो सेवा पुर्याउने र अस्पतालको शल्यक्रियासँग सम्बन्धित क्षमता वृद्धि गर्ने विश्वास गरिएको छ।
अस्पतालका अनुसार, नयाँ अपरेसन थिएटरमा अत्याधुनिक प्रविधि जडान गरिएको छ, जसले शल्यक्रियालाई अझ सुरक्षित, प्रभावकारी र सहज बनाउनेछ। विशेषगरी, यसको मोडुलर डिजाइनका कारण उपकरणको प्रयोग, स्थान व्यवस्थापन र सरसफाइ प्रभावकारी हुने बताइएको छ।
नयाँ अपरेसन थिएटरको उद्घाटन कार्यक्रममा वरिष्ठ न्युरोसर्जन डा. रोशन खतिवडा, डा. सुनिल कुमार दास, न्यूरो सर्जन डा. आशिष जंग थापा, डा. आलोक झा, वरिष्ठ अर्थोपेडिक सर्जन प्रो. डा. नवीन कर्ण, वरिष्ठ जीआई तथा ल्यापरोस्कोपिक सर्जन डा. नवीन कुमार कर्णलगायत चिकित्सकहरूको उपस्थिति थियो। उनीहरूले नयाँ प्रणालीले अस्पताललाई थप उन्नत सेवा प्रदान गर्न सक्षम बनाउने बताएका छन्।
यससँगै, अस्पतालले एमआरआइ, एआइ पावर्ड सीटी स्कयान, डेक्सा स्क्यान, निजी क्याविन, कुजा एकसेल, इन्डोस्कोपी सर्जरी जस्ता सुविधासम्पन्न उपकरणहरूको समेत थप व्यवस्था गरेको छ, जसले बिरामीहरूको सटीक निदान गर्न र उचित उपचार प्रक्रिया अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने अस्पतालले बताउनुभयो ।
अस्पतालले आउने वर्षमा ‘रजत जयन्ती’ मनाउँदैछ। अस्पताल प्रशासनले यस अवसरलाई ‘नयाँ सोच, नयाँ प्रक्रिया र पहिलेकै अँगालो’ भन्ने नारासहित मनाउने निर्णय गरेको छ। अस्पतालले नवीनतम चिकित्सा प्रविधिहरूलाई निरन्तर समावेश गर्दै बिरामीहरूको सेवामा उत्कृष्टता कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।