विराटनगर । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका वडा नं. ७, कविलासा स्थित खान चौकमा रहेको श्री आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा वडा अध्यक्ष मोजम्मील खान सर्वसम्मत चयन हुनुभएको छ। समितिको सदस्यहरुमा प्रमोद मेहता, बिनोद कुमार सरदार, नाजिम खाँ, सुनिता उराँव, गुजिया कुमारी साह र गायत्री देवी साह चयन भएको हो ।
आइतबार अध्यक्ष पदमा चयन भएपछि खानले विद्यालयको वर्तमान अवस्था निकै नाजुक रहेको बताउँदै आगामी दिनमा सुधारका योजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको छ। उहाँले विद्यालयलाई आधुनिक पठनपाठन प्रणालीतर्फ अघि बढाउने लक्ष्य राखेको उल्लेख गर्दै, प्राथमिक चरणमा कक्षा ३ सम्म अंग्रेजी माध्यममा पठनपाठन सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ।
विद्यालय व्यवस्थापन समितिका अन्य सदस्यहरूले पनि अध्यक्ष खानको नेतृत्वमा विद्यालयको शैक्षिक गुणस्तर सुधार हुने विश्वास व्यक्त गरेका छन्। समुदायको साथ र व्यवस्थापनको प्रतिबद्धताले विद्यालयमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ।
स्थानीय अभिभावक र विद्यार्थीले नयाँ नेतृत्वबाट विद्यालयको प्रगतिको आशा गरेका छन्।