विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–४ बयरवनमा भाउजूमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले देवरलाई पक्राउ गरेको छ। ५५ वर्षीया भाउजु शिवा श्रेष्ठ (सार्की) लाई खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले देवर वसन्तलाई नियन्त्रणमा लिएको हो।
घटनाबारे जानकारी दिँदै मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले खुकुरी प्रहारबाट शिवा गम्भीर घाइते भएकी र उनको दाहिने हातको नाडी र पातामा गहिरो चोट लागेको बताएका छन्। घाइते शिवाको दाहिने हात लगभग छिन्नै परेको र थप उपचारका लागि उनलाई विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ।
प्रहरीले वसन्तविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन थप अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।