भारी वर्षाले विराटनगरको जनजीवन प्रभावित
विराटनगर । रातभर वर्षाका कारण विराटनगरका कतिपय स्थान जलमग्न भएको छ । विराटनगरको वडा नम्बर ५, ६, १२, १६, १८, १९ मा धेरै सडकहरू पानीले भरिएर तलाउ जस्तै बनेका छन् ।
नाली पुरिएका कारण सडकमा पानी जमेको छ भने कतै खाल्डाखुल्डीमा पानी जमेको छ । ढल र नाला निर्माणको काम अव्यवस्थित हुँदा वर्षाको पानीले निकास नपाउँदा विराटनगरका अधिकांश स्थान जलमग्न भएको हो ।
मौसम पूर्वानुमान महाशाखाले आज कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।