विराटनगर । सुनसरीमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औँ राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइएको छ । रामधुनी नगरपालिकामा गैरसरकारी संस्था महासंघ, ओरेक र माईति नेपाल तथा रामधुनी नगरपालिकाको सहकार्यमा जिल्ला प्रशासन कार्यालय सुनसरीले आयोजना गरेको मानव बेचबिखन विरुद्धका सन्देश तथा प्ले कार्डसहित प्रभातफेरी र अन्तरकृया कार्यक्रम सम्पन्न गरेको हो ।
अन्तरकृया कार्यक्रममा अधिकारकर्मी मेघराज न्यौपानेले सचेतनाको अभावले गर्दा ग्रामिण तथा विपन्न समुदाय बेचबिखनबाट प्रभावित हुने बताउनुभयो । कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औँ राष्ट्रिय दिवसको औचित्यका बारेमा वक्ताहरुले बोल्नुभएको थियो । बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ नेपाल सरकारले अनुमोदन भएको दिन यो दिवस मनाइँदै आएको छ । वि।स। २०६४ साल देखी भाद्र २० गते देखि राष्ट्रिय दिवसको रूपमा मनाउदै आएको छ ।
जिल्ला स्थित सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरू नागरिक अगुवाको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले मानव बेचबिखन तथा ओसारपसार गर्नेका विरुद्धमा निकै बलियो कानुन भएपनि त्यसको कार्यान्वयन पक्ष फितलो हुँदा समस्या भएको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले जिल्लामा मानव बेचबिखन तथा ओसारपसारको अवस्था र नियन्त्रणको कार्य बारेमा जानकारी गराउनु भयो। ।
कार्यक्रममा रामधुनी नगरपालिकाका कार्यवाहक नगर प्रमुख तारा थापाले मानव बेचबिखन तथा ओसारपसार देशकै ठूलो समस्या भएकाले यसलाई निर्मूल गर्नका लागि सबै लाग्नु पर्नेमा जोड दिनुभयो। कार्यक्रममा गैरसरकारी संस्था महासंघ सुनसरी अध्यक्ष मेघराज न्यौपाने, उधोग वाणिज्य संघ इनरुवा अध्यक्ष विरेन्द्र कुमार साह, सेभ द अर्थका अध्यक्ष पुष्प भट्टराई, इन्सेक प्रतिनिधि जयकृष्ण यादव, ओरेककी बिमला घिमिरे सहित गैरसरकारी संस्था, स्थानीय तहका प्रतिनिधि, बाल संजाल, सुरक्षा निकायको उपस्थिति रहेको थियो ।
उता फरक प्रसंगमा रामधुनी नगरपालिकाका बालबालिकाहरु तथा किसोरकिसोरीहरुलाई आत्महत्या नियन्त्रण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रहरी निरीक्षक निराला भण्डारी, गैर सरकारी संस्था महासंघका अध्यक्ष मेघराज न्यौपाने र कार्यवाहक नगर प्रमुख तारा थापा लगायतकाले आत्महत्या नियन्त्रण सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।