तेह्रथुम । आठराई गाउँपालिका १ डाँडागाउँमा एक महिलाको शव गाडेको अवस्थामा फेला परेको छ । गत साउन १४ गतेदेखि हराइरहेकी २६ वर्षीया रेशिका श्रेष्ठ (दमन्ता) को शव उनकै पसल पछाडिको सुँगुरको खोरमा गाडेको अवस्थामा शनिबार अपराह्न भेटिएको हो ।
५ वर्षयता रेशिकाले श्रीमान राजकुमार श्रेष्ठसँगै श्रीकृष्ण मावि डाँडागाउँको क्यान्टिन संचालन गर्दै आएकी थिइन् । क्यान्टिनमा खाजा र किराना पसल संचालन गर्दै आएकी श्रेष्ठ एकाएक पसलबाटै हराएको भन्दै श्रीमान राजकुमारले इलाका प्रहरी कार्यालय संक्रान्ती बजारमा खोजतलासका लागि निवेदन दिएको थियो ।
प्रहरीले खोजी गरिरहेकै समयमा गत साउन २४ गते बिहानैदेखि श्रीमान राजकुमार पनि सम्पर्कविहीन भएका थिए । प्रहरी, स्थानीय र माइती पक्षले शनिबार खोजी कार्य तीव्र बनाउँदा उनको शव खोरभित्र गाडेको अवस्थामा फोला परेको हो ।
श्रेष्ठको शव उनकै पसल पछाडि रहेको सुँगुरको खोरमा प्लाष्टिकमा बेरेर गाडेको अवस्थामा फेला परेको हो । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक छेफिन्जो भोटेको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ गएको छ ।
घटनास्थल र शवको प्रकृति हेर्दा श्रीमानमाथि शंका उब्जिएको भन्दै प्रहरीले राजकुमारमाथि अनुसन्धान सुरु गरेको छ । श्रेष्ठ दम्पतीबीच समय समयमा झगडा भइरहने गरेको स्थानीयहरूले बताएका छन् । श्रेष्ठ दम्पतीले १० वर्षको कागज गरेर १ लाख रुपैयाँ बन्धकी राखेर नजिकै रहेको श्रीकृष्ण माविको क्यान्टिन संचालन गर्दै आएको सोही विद्यालयका शिक्षक उमानाथ भण्डारीले बताउनुयो ।
उक्त क्यान्टिन पनि राजकुमारले केही दिनअघि मात्रै बिक्री गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।