विराटनगर । स्वर संगम संगीतालयको आयोजनामा होली पर्वको अवसरमा विशेष रङ्गारङ्ग कार्यक्रम सम्पन्न भएको छ । बिहीबार परम्परागत मञ्चीय भाषणभन्दा भिन्न शैलीमा आयोजना गरिएको यस कार्यक्रममा सांगीतिक प्रस्तुति तथा शुभकामना आदानप्रदान गरिएको थियो ।
कार्यक्रममा सहभागीहरू एकआपसमा अबीर लगाउँदै होलीका पारम्परिक गीत तथा कविता प्रस्तुत गर्दै रंगीन माहोल सिर्जना गरेका थिए । कार्यक्रममा विनय मण्डल, मन्जु अग्रवाल, तारा श्रेष्ठ, भगवान झा, प्रेम नारायण झालगायतका कलाकारहरूले होली सम्बन्धी गीत तथा कविता प्रस्तुत गरेका थिए ।
स्वर संगम संगीतालयका सञ्चालक कुशेश्वर राईका अनुसार, यो कार्यक्रम संगीतप्रेमीहरूका लागि विशेष अवसर बनेको थियो, जसमा विभिन्न तह र तप्काका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मधु पोख्रेलले होली पर्व आपसी सद्भाव, प्रेम र एकताको प्रतीक भएको उल्लेख गर्दै यस्ता सांस्कृतिक कार्यक्रमले समुदायमा सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।