विराटनगर । आज विश्वभर विश्व रेडियो दिवस विविध चेतनामूलक कार्यक्रमसहित मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा हरेक वर्ष फेब्रुअरी १३ लाई रेडियोको योगदान सम्झने विशेष दिनका रूपमा मनाइन्छ। यस वर्षको दिवस जलवायु परिवर्तनका चुनौतीहरूसँग जुध्न सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गर्दै मनाइँदै छ।
सन् २०११ मा युनेस्काका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तरराष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रस्ताव गरे पनि राष्ट्रसङ्घीय महासभाले त्यसलाई २०१२ मा अनुमोदन गरेपछि यो दिवस मनाउन प्रारम्भ भएको हो ।
रेडियो लोकतान्त्रिक बहसका लागि मात्र होइन, सूचना, शिक्षा, मनोरञ्जन र सामाजिक परिवर्तनको लागि समेत प्रभावकारी माध्यम हो। टेलिभिजन, इन्टरनेट तथा अन्य सञ्चार माध्यमहरूको विकास भए पनि रेडियो अझै पनि विश्वका करोडौँ मानिसहरूको भरपर्दो साथी छ।
रेडियोले अवाजविहीनका आवाज बन्ने, विविधतालाई सम्मान गर्ने, एकता कायम गर्ने, विपत्तिको समयमा भरपर्दो सूचना दिने र ग्रामीण भेगमा समेत जनचेतना फैलाउने अतुलनीय भूमिका निर्वाह गरेको छ। ग्रामीण भेगका बासिन्दा, आपत्कालीन उद्धारकर्मी, विद्यार्थी तथा आमसर्वसाधारणका लागि रेडियो जीवनको अभिन्न अङ्ग बनेको छ।
रेडियोको महत्त्व अहिले पनि उत्तिकै छ । सूचना प्रवाहको तीव्र प्रतिस्पर्धाका बीच पनि रेडियो आफ्नो गति, सरलता र सहज पहुँच का कारण सबैभन्दा बढी सुन्ने माध्यमका रूपमा अगाडि छ। विशेष गरी प्राकृतिक प्रकोप, स्वास्थ्य संकट तथा अन्य आपत्कालीन अवस्थामा छिटो र भरपर्दो सूचना दिन रेडियो जति प्रभावकारी माध्यम अर्को छैन।
यस वर्षको रेडियो दिवस जलवायु परिवर्तनका चुनौतीहरूसँग जुध्नका लागि सचेतना जगाउने उद्देश्यले मनाइँदै छ। रेडियोले जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धि गर्ने, वातावरण संरक्षणका उपाय सिकाउने तथा नीति निर्माणमा प्रभाव पार्ने महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।
सूचना प्रवाहको यो सशक्त माध्यमले विगतदेखि वर्तमानसम्म पुर्याएको योगदान अमूल्य छ। प्रविधिको विकाससँगै नयाँ सञ्चार माध्यमहरू आए पनि रेडियोको प्रभाव घटेको छैन, बरु यसको आवश्यकता अझ बढेको छ। सूचनाको सहज पहुँच, लोकतान्त्रिक संवादको प्रवर्द्धन र सामाजिक रूपान्तरणका लागि रेडियो अझै पनि सबैका लागि एक महत्वपूर्ण सञ्चार माध्यम रहिरहनेछ।