विराटनगर । सरस्वती पूजालाई लक्षित गर्दै सुनसरीको देवानगञ्जका मूर्तिकारहरू अहिले मूर्ति बनाउनमा व्यस्त छन्। सामुदायिक तथा निजी विद्यालयहरू, पुस्तकालयहरू र अन्य धार्मिक स्थलहरूमा पूजाका लागि मूर्ति बनाउने क्रम तीव्र भएको छ।
देवानगञ्ज-३ का अर्जुन पण्डितका अनुसार सरस्वती पूजाको समय निकटिँदै जाँदा उनीहरूले मूर्ति बनाउन भ्याइ-नभ्याइ गरिरहेका छन्। उनले ३० देखि ४० वटा मूर्ति बनाउने गरेका छन्। उता, देवानगञ्ज-४ का जुगेश्वर पण्डितले आफू र परिवारका सदस्यहरूले मिलेर वर्षेनी सयभन्दा बढी मूर्ति बनाउने गरेको बताए। यसरी बनाइएका मूर्तिहरू रु. २ हजारदेखि रु. ७ हजारसम्ममा बिक्री हुने र यसबाट वार्षिक एकदेखि सवा लाखसम्म आम्दानी हुने उनले जानकारी दिए।
मूर्तिकारहरूका अनुसार मूर्ति बनाउनका लागि माटो, खर, जुट, रङजस्ता सामग्रीको जोहो गर्नुका साथै घामपानीको पनि ख्याल राख्नुपर्छ। “घाम नउदाएसम्म मूर्ति सुक्दैन, अनि सुकिसकेपछि मात्रै राम्रोसँग रंग लगाउन मिल्छ,” अर्जुन पण्डित बताउँछन्।
पहिलेको तुलनामा अहिले मूर्तिको माग केही घटेको अर्जुन पण्डित बताउँछन्। उनले भने, “सामुदायिक विद्यालयहरूले स्थायी मूर्ति स्थापना गरेपछि माग घटेको हो। अहिले मुख्य रूपमा निजी विद्यालयहरूले मात्रै नयाँ मूर्ति लाने गरेका छन्।”
सरस्वती मूर्तिसँगै देवानगञ्जका मूर्तिकारहरूले गणेश, विश्वकर्मा, काली, दुर्गा लगायतका देवदेवीका मूर्तिहरू पनि वर्षभरि बनाउने गर्छन्।
यस वर्ष माघ २१ गते सोमबार देशभरि श्रीपञ्चमी तथा सरस्वती पूजा मनाइँदै छ। विद्यार्थी, शिक्षालय र धार्मिक संस्थाहरूले विशेष रूपमा पूजाआजा गर्दै देवी सरस्वतीको आराधना गर्ने तयारी गरिरहेका छन्।