काठमाडौं। प्युठानमा डस्टबिनभित्र नवजात शिशुको शवफेला परेको छ। सरुमारानी गाउँपालिका-२, दर्भानमा बिहीबार बिहान फोहोर संकलन गर्न राखिएको डस्टबिनमा शव भेटिएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार शिशुको शव सालनालसमेत नकाटिएको अवस्थामा फेला परेको छ। स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै प्रहरी निरीक्षक केशव केसीको नेतृत्वमा टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।
यसअघि पनि प्युठानको जुम्री क्षेत्रमा नवजात शिशुको शव फेला परेको थियो। २०८० साल माघमा होटेल आयुष्मा नजिकै जस्ताको छाप्रोमा सालनालसहित कपडाले छोपेर झोलुंगोमा राखिएको अवस्थामा शिशु भेटिएको थियो।
पुनः यस्तै घटना दोहोरिनु चिन्ताको विषय बनेको छ। यसले समाजमा बाल अधिकारको संवेदनशीलतालाई पुनः उजागर गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।