विराटनगर । विराटनगरस्थित न्यूरो अस्पतालले पहिलो पटक न्यूरो सर्जरी सेवा सुरु गर्दै यस क्षेत्रमा चिकित्सा सेवाको नयाँ युगको आरम्भ गरेको छ। यसै क्रममा अस्पतालले नयाँ न्यूरोसर्जन डा. सुनिलकुमार दासलाई आफ्नो टिममा स्वागत गरेको छ।
मधेश प्रदेशको राजधानी जनकपुरमा जन्मिएका डा. दास उच्च शैक्षिक योग्यता र अनुभवले भरिपूर्ण छन्। उनले भारतको प्रतिष्ठित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) बाट न्यूरोसर्जरीमा एमसीएच डिग्री हासिल गरेका छन्, जुन न्यूरो सर्जरीको क्षेत्रमा उच्चतम मान्यता हो। साथै, उनले पोष्टग्राजुएट इन्स्टिच्यूट अफ मेडिकल एजुकेसन एण्ड रिसर्च (पीजिमर), चण्डीगढबाट सामान्य शल्यक्रिया (एमएस) पूरा गरेका छन्।
डा. दासले आफ्नो एमसीएचको पढाइपछि भारतको कोलकातास्थित इन्स्टिच्यूट अफ न्यूरोसाइन्सेसमा तीन वर्षसम्म न्यूरोसर्जनको रूपमा अनुभव संकलन गरेका छन्।
न्यूरो अस्पतालका अध्यक्ष तथा वरिष्ठ न्यूरोलोजिस्ट डा. वीरेन्द्रकुमार बिष्टका अनुसार, “डा. दासको विशेषज्ञता, बिरामीप्रतिको समर्पण, र स्वास्थ्य सेवाप्रतिको प्रतिबद्धता हाम्रो अस्पतालको उद्देश्यसँग पूर्ण रूपमा मेल खान्छ। हामी उनलाई हाम्रो टिममा स्वागत गर्न पाउँदा निकै उत्साहित छौं।”
न्यूरो अस्पतालले अत्याधुनिक उपकरण र प्रविधिसहित न्यूरो सर्जरी सेवालाई निरन्तरता दिने योजना बनाएको छ। डा. दासको आगमनसँगै, अस्पतालले बिरामीहरूको सेवा र स्वास्थ्य सुधारमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेको छ।
यस कदमले विराटनगर र आसपासका क्षेत्रका जनताहरूलाई न्यूरो सर्जरीको लागि देश बाहिर जानुपर्ने बाध्यताबाट मुक्त गराउँदै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।