विराटनगर । देवानगञ्ज गाउँपालिकाले यस वर्ष पनि किसानहरूलाई ५० प्रतिशत अनुदानमा गहुँको उन्नत जातको बिउ वितरण सुरु गरेको छ। बिहीबारबाट सुरु गरिएको यो कार्यक्रम गाउँपालिकाको वार्षिक स्वीकृत योजनाअनुसार सञ्चालन गरिएको हो।
गाउँपालिका प्रमुख बेचनप्रसाद मेहताले किसानलाई प्रोत्साहन गर्दै कृषि उत्पादनमा वृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको बताउनुभयो। उहाँका अनुसार, गत वर्षको सफलताबाट प्रेरित हुँदै यस वर्ष पनि एनएल ९६१ जातको उन्नत गहुँको बिउ वितरण गरिएको हो।
गहुँको बिउ वितरणको लागि वडा अनुसार कोटा निर्धारण गरी किसानहरूबाट माग संकलन गरिएको थियो। कृषि सेवा शाखाको व्यवस्थापनमा र सिनुवारी महिला कृषि सहकारी संस्था लि. को सहकार्यमा वितरण कार्य सुरु भएको हो। बिहीबार गाउँपालिका कार्यालय परिसरमा आयोजित एक कार्यक्रममा प्रमुख मेहता, उपाध्यक्ष कुमारी बिभा यादव, प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी र वडा नं. ६ का अध्यक्ष हरिनन्दन मेहताले किसानलाई बिउ हस्तान्तरण गरेर वितरण सुरु गर्नुभएको थियो।
यो वर्ष २७९ बोरा गहुँको बिउ वितरण गर्ने योजना छ। किसानहरूलाई यसअघि नै सूचना जारी गरी माग विवरण संकलन गरिएको थियो।