विराटनगर । नारी उत्थान समाज विराटनगरले आज छैठौं जितिया महोत्सव मनाएको छ ।
कार्यक्रममा मिथिलामा बिशेषगरी विवाहित नारीले आफ्ना पति तथा सन्तानका लामो आयूको कामना गर्दै यो जितिया पर्व मनाउने चलन छ ।
तराई मधेशमा लोकप्रिय रहेको जितिया पर्व प्रत्येक वर्ष असोज कृष्णपक्ष सप्तमीदेखि नवमी तिथिसम्म मनाईन्छ । सप्तमीका दिन नहाय खाएदेखि यो पर्व शुरु हुने गर्छ ।
नहाय खाने वर्तका दिन वर्तालु महिलाहरुले स्थानीय जलासयमा गएर स्नान गरी घिरौंलाको पातमा पिना, तेल, सिन्दुर चढाएर पुजा गर्ने गरिन्छ । यस पर्वमा नहाय खायको दिन अनिवार्य रुपमा वर्तालु महिलाहरुलाई माछा तथा मरुवाको रोटी खाने चलन छ ।
विशेषत तराई र अन्य स्थान लगायत भारत अनि संसारका धेरै देशमा वैदिक सनातन हिन्दु रित अनुसार जितियाको व्रत लिइन्छ ।
व्रत बस्नु अघिल्लो दिनमै व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, सख्खर र तोरीको तेल चढाउनुपर्छ। देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना शाख सन्तानलाई पनि लगाउन दिनुपर्छ ।
व्रतको पहिले दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ जसलाई स्थानीय भाषामा माछ मरुवा(कोदो) भनिन्छ । विधिअनुसार बिहान काग कराउनुभन्दा पहिल्यै व्रती महिला ओठगन गरेर सम्पन्न हुने जस्ता क्रियाकलाप तथा स्थानीय कलाकारले नृत्यनाटक प्रस्तुति गरेको थियो ।
जितिया पर्वको अवसरमा आज आयोजित कार्यक्रममा सञ्चारकर्मी सन्तोष मेहतालाई कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सम्मान गर्नुभएको छ ।
विगत ६ वर्षदेखि विराटनगर नारी उत्थान समाजले गरेका गतिविधिलाई आम नागरिकसम्म पुर्याउन खेलेको भूमिकाको कदर गर्दै मेहतालाई सम्मान गरिएको आयोजक संस्थाका नन्दकिशोर मेहताले बताउनुभयो । नारी उत्थान समाजले पत्रकार मेहतासँगै अन्य व्यक्तिहरूलाई पनि सम्मानित गरेको थियो ।
कार्यक्रममा प्रदेश प्रमुख खापुङ, प्रदेश सांसद राम प्रसाद मेहता नेकपा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य विनोद ढकाल लगायतले जितिया पर्वको महत्त्व सहित शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।