विराटनगर । तराई मधेसमा मनाइने चौरचन पर्व नजिकिएसंगै सुनसरी जिल्लाको देवानगञ्जमा लाग्ने देवानगञ्ज बजारसहित तराई-मधेसका जिल्लाहरुको बजारमा माटोको भाडाकुडाको व्यापार बढेको छ । तराई-मधेश क्षेत्रमा मधेशी,मैथली र थारु समुदायका स्थानीयहरुले सघन रुपमै गरिने चौरचन पर्वमा माटोको भाँडाकुँडाको माग बढेको छ । चौरचन पर्व सबैले मनाउने भएकाले माटोको भाडो व्यापार बढेको हो । एक परिवारले करिब ३ सय रुपियाँको माटोको भाडो खरिद गर्नुपर्ने हुन्छ । यहाँका हजारौं परिवारले चौरचन पर्व मनाईरहेका छन् ।
यस वर्ष हुने पर्वमा घैला, छाछी अर्थात कन्तारी, मटकुरी, लाबैन, दियो, र फुच्ची लगायतका माटोको भाडाहरुमा दही, खीर र फलफुल तथा मिठाइ राखेर पुजापाठ गर्ने भएकाले माटोको भाडाको माग अत्याधिक बढेको हो । स्थानीयहरुले चौरचनको १ महिना अघिबाट नै माटाका भाडाहरु खरिद गरेर लगने गरेको बताइएको छ ।
यस वर्ष भाद्र २१ गते चौरचन र हरितालिका तिज पर्व एकै साथ रहेको छ ।
चौरचन गर्ने स्थानीयहरुले माटो भाडाकुडा मंहगो भएको गुनासो गरेका छन् । उता माटाका भाडा बनाउने र विक्रिवितरण गर्ने कुमालेहरुले वर्षभरी आफुहरुको व्यापार र पेशा अन्य समयमा नचलेको तथा माटोको भाडो बनाउन श्रम बढी खर्चिनुपर्ने बाध्यता रहेकाले महगोंमा भाडाबेच्न बाध्य भएको बताएका छन् ।
चौरचनका लागि सुनसरीको देवानगञ्ज, हरिनगर, बर्जु, गढी, दुहबी, इनरुवा, भोक्राहा लगागतका स्थानीय हाट बजारहरुमा माटाका भाडाहरु किन्ने स्थानीयहरु नजिकको बजारमा भिड लाग्ने देखिन्छ ।