विराटनगर । मोरङलाई पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । मोरङका १७ वटै स्थानीय तहहरुले पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिसकेपछि हिजो विराटनगरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख तथा जिल्ला खोप समन्वय समिति संयोजक अजम्वर राईले पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गर्नु भएको हो ।
नेपाल सरकारको उच्च प्राथमिकता प्राप्त राष्ट्रिय खोप कार्यक्रममा निशुल्क उपलब्ध १५ महिना भित्र दिने सबै खोपहरु सबै बालबालिकाहरुलाई पूरा मात्रामा लगाई पूर्णखोप सुनिश्चितता गर्ने राष्ट्रिय निर्देशिका २०७१ (संशोधन २०७७) बमोजिम खोज र खोपको नीति अनुसार सबै प्रक्रिया पुरा गरि मोरङ जिल्लाका सबै वडा स्थानीय तहहरुबाट २०८० चैत्र २८ गते देखि २०८१ असार २४ गते सम्ममा पूर्णखोप सुनिश्चितता एवं दिगोपना कायम गरेको पाइएकोले मोरङ जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिनुभयो । बालबालिकाहरुलाई विभिन्न संक्रामक रोगहरुबाट बचाई बालमृत्यु दरमा कमिल्याई दिगो विकास लक्ष्य हासिल गर्न तथा पोलियो उन्मूलन र दादुरा रुबेला रोग निवारण गर्ने विश्व र राष्ट्रिय लक्ष्य प्राप्तिको लागि महत्वपूर्ण कार्य भएको उहाँले बताउनुभयो ।
बालबालिका निरन्तर जन्मिरहने र खोप पनि निरन्तर उपलब्ध गराई बालबालिकाको जीवन रक्षा गर्न सम्पूर्ण क्षेत्रको जिम्मेवारी हुने भएकोले मोरङ बासीको खुशी र समवृद्धिको लागि यो कार्य लाई निरन्तरता दिन जिल्ला खोप समन्वय समिति प्रतिबद्ध रहेको जिल्ला समन्वय समिति मोरङका प्रमुख तथा जिल्ला खोप समन्वय समिति संयोजक राईले बताउनुभयो । सबै बालबालिकालाई १५ महिना भित्रमा सबै खोप पूरा गराई बालबालिकाको जीवन रक्षा गर्न सम्पूर्ण जनप्रतिनिधि, राजनीतिक दल, बुद्धिजीवी, समाजसेवी, शिक्षक, अभिभावक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका लगाएत सम्पुर्ण सरोकारवालाहरुलाई सहयोग र प्रतिवद्धताको लागि आग्रह समेत गर्नुभयो । पूर्णखोप सुनिश्चितता दिगोपना कार्यलाई सवै तहबाट निरन्तरता दिनेकुरामा आफु आशावादी रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख, स्वास्थ्य शाखाका प्रमुख, सरोकारवाला लगायतको उपस्थिति रहेको थियो । पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा गरेका सवै स्थानीय तहहरुलाई सम्मान गरेको थियो ।