विराटनगर । विराटनगरमा सुनसरीको दुहवी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बुधबार अक्लेशलाई चक्कु प्रहार गरी फरार भएका विराटनगर–४ का २४ वर्षीय गणेश यादवलाई पक्राउ गरेको हो ।
मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार सुनसरीको दुहवी नगरपालिका–१२ का २३ वर्षीय यादव हत्या आरोपीको छिमेकमा पाहुना आएको थियो। बेलुका खानपिनका क्रममा विवाद भएपछि गणेशले चक्कु प्रहार गरेको थियो ।
सामान्य विवाद र भनाभनको विषयलाई लिएर गणेशले बुधबार राति १० बजेतिर अक्लेशमाथि चक्कु प्रहार गरेको बताउनुभयो । दुई जनाबीच विवाद भएपछि मोटरसाइकल चढेर आफ्नो घरतर्फ जान खोज्दै गर्दा अक्लेशमाथि चक्कु प्रहार भएको थियो ।
चक्कु प्रहारबाट बायाँ कोखामा गहिरो चोट लागेर अवस्था गम्भीर बनेका उहाँलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा बिहीबार मृत्यु भएको थियो ।
घटनापछि फरार भएका गणेशलाई भारततिर भाग्न खोज्दै गर्दा प्रहरीले लौकहीबाट बिहीबार दिउँसो पक्राउ गरेको एसपी कार्कीले बताउनुभयो ।