विराटनगर। स्वास्थ्य कार्यालय मोरङले मोरङ जिल्लाका ५२ हजार ३ सय ५२ जना बालबालिकाहरूलाई पोलियो रोग विरुद्धको आई.पी.भी. खोप लगाउँने तयारी गरेको छ । जेठ २६ गतेसम्म खोप लगाउने कार्यक्रम सञ्चालनमा रहने छ ।
आगामी जेठ १३ गतेदेखि शुरु हुने अभियानमा साढे ५ वर्षदेखि ८ वर्षसम्मका बालबालिकालाई खोप लगाईने स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा.सुरेश मेहताले जानकारी दिनुभयो । जेठ २६ गते सम्म चल्ने अभियान अन्र्तगत विद्यालय केन्द्रीत खोप केन्द्र निर्धारण गरिएको उहाँले बताउनुभयो । डा. मेहताले मोरङमा खोप अभियान प्रभावकारी हुने गरेको बताउनुभयो । खोप अभियानमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
आई.पि.भी. खोप अभियानबारे आज स्वास्थ्य कार्यालय मोरङले विराटनगरमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले सन २०२६ सम्ममा पोलियो उन्मुलन गर्ने विश्वव्यापी लक्ष्य रहेको बताउनुभयो ।
पोलियो भाइरसबाट संक्रमण भएको व्यक्तिलाई पक्षघात हुनसक्ने र पक्षघात भईसकेपछि निको नहुने बताउनुभयो । पोलियो भाइरसबाट संक्रमण भएको व्यक्तिको मृत्यु समेत हुनसक्ने खोप अधिकृत भण्डारीले बताउनुभयो ।
नेपालमा आई.पि.भी. खोप सेवा २०७१ आश्विन महिना देखि शुरु गरिएको उहाँले बताउनुभयो । तर विश्वव्यापी अभावको कारणका २०७३ जेष्ठ देखि २०७५ भाद्रसम्म आई.पि.भी. खोपको अभाव भई सो अबधिमा सो खोप उपलब्ध नभएको खोप अधिकृत भण्डारीले जानकारी दिनुभयो ।
देशव्यापी अभियान अन्तर्गत १४ लाख बालबालिकालाई आईपीभी खोप लगाईने उहाँले बताउनुभयो । देशव्यापी अभियानलाई सवै पक्षले साथ दिन आवस्यक रहेको जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक अजम्वर राईले बताउनुभयो । उहाँले अभियानलाई सफल बनाउन स्थानीय सरकारको पूर्ण सहयोग आवस्यक रहेको बताउनुभयो ।