विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विश्वासको मत लिने भएको छ ।
२७ वैशाखमा मुख्यमन्त्री नियुक्त भएको कार्कीले सोही दिन मन्त्रिपरिषद् बैठक राखेर प्रदेशसभाको बर्षे अधिवेशन आह्वानको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गराएको थियो । सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले ३१ वैशाखको विहान ११ बजे बस्ने गरी प्रदेशसभाको अधिवेशन आह्वान गरेको छ ।
सोमबारको बैठकबाटै विश्वासको मत लिने तयारी मुख्यमन्त्री कार्कीले गरेको हो। जसको लागि उहाँले प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराइ सकेको छ ।
मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बैठक भने नेपाली कांग्रेसले बहिस्कार गर्ने तयारी गरेको छ । मुख्यमन्त्री नियुक्ति प्रक्रियाको विरुद्ध परेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन हतार गरेको भन्दै कांग्रेसले बहिष्कार गर्ने बताएको हो ।
कार्कीले एमाले र माओवादीका गरी ५२ सांसदको समर्थन पेश गरेपछि त्यसै दिन प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेको थियो । त्यसै दिन मुख्यमन्त्री कार्कीले एमाले र माओवादीका एक-एक नेतालाई मन्त्रीमा नियुक्त गरिसकेको छ ।