काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु हराएको घटनामा जिल्ला प्रहरी परिसर, काठमाडौंले संदिग्ध महिलाको खोजी थालेको छ ।
अनुसन्धान अधिकृतहरुले संकलन गरेको क्लोज सर्किट (सीसी) क्यामराको फुटेजमा समेत ती महिला कैद भएकी छन् । मास्क लगाएकी महिलाले काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर हिंड्दै गरेको सीसी टीभीमा देखिएको छ ।
अनुसन्धान अधिकृतहरुले फुटेजका आधारमा शिशुको खोजी थालेका छन् । साढे १२ बजेतिर शिशु हराएको भन्दै प्रहरीकहाँ खबर गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताउनुभयो । बच्चा लिएको केहीबेरमै ती महिला फरार भएकी थिइन्। शुक्रबार दिउँसो १२ बजेतिर बच्चा चोरी भएको र अहिलेसम्म नभेटिएको प्रहरीले बताएको छ।
अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुसार पीडित महिला ओपीडी जाँचका लागि अस्पताल पुगेका बेला शिशु चोरी भएको बताउनुभयो ।