कोरोना भाइरसको संक्रमित बढ्न थालेपछि सरकारले बिहीबारदेखि लागू हुने गरी दुई साताका लागि राजधानी काठमाडौं उपत्यकासहित अधिक संक्रमित रहेका जिल्लामा निषेधाज्ञाको निर्णय गरेको छ ।
टोकियो ओलम्पिकमा एथलेटिक्सका गोपीचन्द्र पार्की तथा पौडीका गौरिका सिंह र एलेक्स शाहले सहभागिता जनाउँदै छन् । त्यसबाहेक करातेका अनु अधिकारी र नवीन रसाइली, आर्चरीका ज्ञानु अवाले र तिलक पुन मगर, तेक्वान्दोका वीरबहादुर महरा, सुटिङका सुष्मिता नेपाल र कल्पना परियार, भारोत्तोलनका कमला श्रेष्ठ र सन्जु चौधरी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र सोनिया भट्ट तथा बक्सिङकी मीनु गुरुङ वाइल्ड कार्डको प्रतीक्षामा छन् ।‘आर्चरी र भारोत्तोलनले पोखरामा प्रशिक्षण गरिरहेका छन् । उनीहरू होटलको क्वारेन्टाइनमा छन् । अन्य खेलको प्रशिक्षण काठमाडौंमा भइरहेको छ । मैले सबै खेलाडीलाई पोखरा लाने प्रस्ताव गरेको थिएँ । केही प्राविधिक कठिनाइ आए,’ सदस्यसचिवले भने, ‘ओलम्पिक आउन धेरै समय बाँकी छैन । उनीहरूलाई निरन्तर प्रशिक्षणको विशेष व्यवस्था हुनेछ । काठमाडौंमा रहेका खेलाडी र प्रशिक्षकको हकमा होटलमा भन्दा घरमै सुरक्षित रहनसक्ने अवस्था महसुस गरेका छौं ।’
सन् २०१९ को अन्त्यतिर चीनबाट सुरु भएको कोरोना महामारीका कारण सरकारले गत वर्ष चैत दोस्रो सातादेखि झन्डै ६ महिनासम्म देशव्यापी लकडाउन गर्दा खेलकुद क्षेत्र तहसनहस भएको थियो । एक दिन पनि प्रशिक्षणविहीन हुन नहुने खेलाडीहरू ६ महिनासम्म घरमै थुनिएका थिए । त्यतिबेला ओलम्पिक तयारीका खेलाडीले पनि प्रशिक्षण गर्न पाएनन् ।
‘अघिल्लो पटकको लकडाउनले हाम्रा खेलाडीको प्रदर्शन क्षमता (इन्डुरेन्स लेभल) मा धेरै नै असर गरेको थियो । पछिल्लो ६/७ महिनाको मिहिनेतले हामी उनीहरूलाई लगभग पहिलेकै स्थितिमा फर्काउन सफल भएका छौं,’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा ओलम्पिक तयारीमा रहेको कराते टोलीका प्रशिक्षक दीपक श्रेष्ठले भने, ‘यसपल्ट पनि खेलाडीलाई घरभित्रै राखेर उनीहरूको करिअरमै असर पार्ने काम गर्नुहुन्न । राखेपले पनि यसबारे उचित निर्णय लिने नै छ ।’
प्रशिक्षक क्षेत्रले खेलाडी तथा प्रशिक्षकलाई आइसोलेट गरेर भए पनि तयारीलाई निरन्तरता दिनुपर्ने बताए । ‘प्रतियोगिताजस्तो धेरै मानिसको चहलपहल प्रशिक्षणमा हुँदैन । हामी बन्द कभर्डहलमा प्रशिक्षण गर्नेछौं । राखेपले त्यहाँसम्म जान/आउन अवरोध नहुने वातावरण बनाइदिए पुग्छ ।’
मार्च महिनादेखि कोरोनाको नयाँ भेरियन्टको रूपमा दोस्रो लहर सुरु भएको छ । यसले अमेरिका, बेलायत, फ्रान्स, ब्राजिललगायतका विश्व खेलकुदका महाशक्ति राष्ट्रमा पनि दोस्रो लहरले असर गर्न थालेको छ । भारतलगायत दक्षिण एसियाका देशहरू पनि कोरोनाबाट प्रताडित छन् । यस्तो अवस्थामा एक वर्ष सारिएको टोकियो ओलम्पिक आयोजनामै अन्योल सुरु हुन थालेको छ । त्यसो त आयोजक जापान र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) बाट औपचारिक रूपमा कुनै वक्तव्य अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
‘तीन खेलाडीबाहेक हाम्रा सबै खेलाडी वाइल्ड कार्डको प्रतीक्षामा छन् । उनीहरू ओलम्पिक सोलिडारिटी कार्यक्रमअन्तर्गत प्रशिक्षणरत छन्,’ नेपाल ओलम्पिक कमिटीका वरिष्ठ उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्यले भने, ‘वाइल्ड कार्ड भन्ने कुरा आईओसी, ओलम्पिकको आयोजक देश र सम्बन्धित खेलको विश्व महासंघबीचको सहकार्य र समन्वयमा वितरण हुने कुरा हो । हामीलाई अहिलेसम्म कुनै पनि खेलबाट संकेत त आइसकेको छैन तर हामी केही खेलमा वाइल्ड कार्ड प्राप्त गर्नेमा सकारात्मक छौं ।’
कार्यकारी निर्देशक वैद्यले यही नै खेलको वाइल्ड कार्ड आउॅछ भन्ने निश्चित नभएकाले सिफारिस भएका सबै खेलका खेलाडीलाई तयार अवस्थामा राख्नुपर्ने भएकाले सबैको निरन्तर र स्तरीय प्रशिक्षण हुनुपर्ने बताए ।
सन् २०१९ को मे महिनोदेखि ७ खेलका १२ खेलाडीले ओलम्पिक छात्रवृत्ति पाइरहेका छन् । उनीहरूलाई प्रशिक्षण गर्न र प्रतियोगिता खेल्न मासिक ५ सय डलर छात्रवृत्ति दिइन्छ । उनीहरूले यो सुविधा अन्तिम प्रतियोगिता सकिउन्जेलसम्म प्राप्त गर्नेछन् । ढिला सिफारिस भएका कारण एथलेटिक्सका गोपीचन्द्र पार्कीले छात्रवृत्ति पाएका छैनन् । पौडीका गौरिका र एलेक्स पनि छात्रवृत्तिको दायरामा छैनन् । सदस्यसचिव सिलवालले गोपीको हकमा जापानसँग समन्वय गरी उतै गएर प्रशिक्षण गर्ने तयारी भए पनि कोरोनाका कारण जापानले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएका कारण सम्भव नभएको जानकारी दिए ।
ओलम्पिक छात्रवृत्ति, अन्तर्राष्ट्रिय वरीयता र ओलम्पिक कमिटीको प्राथमिकताको आधारमा वाइल्ड कार्ड प्रदान गरिनेछ । यसपल्टको ओलम्पिकका लागि विश्वव्यापी रूपमा विभिन्न खेलको वाइल्ड कार्ड कोटा निर्धारण गरिएको छ । नेपाल ओलम्पिक कमिटीले सिफारिस गरेकामध्ये सुटिङ र जुडोमा सबैभन्दा धेरै कोटा छ । सुटिङमा १२ पुरुष र १२ महिना तथा जुडोमा २० जनाको कोटा निर्धारित छ । जुडोमा महिला र पुरुषको कोटा निर्धारण गरिएको छैन ।