गणतन्त्रमा न्यायको चक्रब्यूह

SITENAME

जय प्रकाश आनन्द

 

 

साल त बि.स. २०५९ हो । गते याद भएन, शुक्रवारको दिन थियो । हरेक बिहीवारको दिन अपरान्ह प्रधान मंत्री र राजाका बीच भेट हुने नियमितता थियो । यसको भोली पल्टको कुरा हो । प्रधानमंत्री शेर बहादुर देउवाको बोलाहटमा हामी केही मंत्रीहरू बालुवाटार पुगेका थियौ । खुम बहादुर खडका, चिरंजीवि वाग्ले, बिजय गच्छदार, बल बहादुर केसी र म । पूर्ण बहादुर खडका पनि आई पुग्नु भएको थियो । 
हातको औंलामा लाउनु भएको औंठी घुमाउदै देउवा जीले अघिल्लो साँझ राजासंग भएको कुराकानी सुनाउनु भयो । भ्रष्टाचार बढेर संसदीय ब्यवस्था नै कमजोर भएकोमा राजा ज्ञानेन्द्र बडो चिन्तित छन् रे ! अख्तियार कारवाही गर्न उद्यत भएको छ रे ! तपाई ४/५ जना मंत्रीहरूले राजिनामा गरिदिनु पर्यो भन्ने राजाको सुझाव छ रे ! राजाले भनेको रे "पिएम, आईदर दे रिजाईन और दे सूड प्रिपेयर टू फेस प्रिजन !" देउवा जी मार्फत सुनेको राजाज्ञाबाट म स्तब्ध भएको थिए ।

हामी सबै स्तब्ध भयौं । केही साता देखि हामी राजा र देउवाका हिमचीम बिचारी रहेका थियौ । नेपाली काँग्रेसको बिभाजनमा सहभागी भएर हामीबाट ठूलो गलती भएको आभाष हामीलाई भैरहेको थियो । राजा-देउवाका बीच बन्न लागेको यस गठबन्धनलाई मलजल पुर्याउनु हुन्न् भनेर हामी मध्येका केही मंत्री मित्रहरूले राजिनामा दिन मानेन् । चिरंजीविले त देउवालाई षडयन्त्रकारी भन्दै संसदीय ब्यवस्थानै खतम बनाउने राजाको पियादा भएको आरोप लगाए ।

दिन नबित्दै चिरंजीवि वाग्लेलाई अख्तियारको पत्र आयो । यसको संकेतका साथ दरबारीया पत्रिकाहरूले पहिले नै समाचार दिएको थियो । महिनाहरू नबित्दै राजाले देउवालाई असक्षम भनी पदच्यूत गरे । हामी सबै अख्तियारको फन्दामा पर्यौ । बाग्ले जी पछि म, र खुम बहादुर जी शाही फन्दामा पारियौं । केही साथीहरू यस चक्रब्यूहबाट निस्के, राजासंग कुरा मिलाए । बिजय गच्छदार, अर्जुन नरसिंह केसीहरू अहिले पनि सम्मानित जीवन यापन गर्दैछन् । यो बुद्धिमानी ठिक थियो । मैले त्यस अवसरको उपयोग गर्न जानिन् । एक न एक दिन शाही सत्ताको अन्त्यसंगै मेरो यस कालरात्रीको पनि अन्त्य हुन्छ भन्ठानेको थिए । तर तेसो भएन, शाही सत्ताको समाप्ति पछि स्वयं सर्वाधिकारपति गिरिजा बाबूले पनि हामी उपर भएको शाही उपक्रमलाई बिशुद्ध भ्रष्टाचारको निराकरणकै रूपमा लिनु भयो । जल प्रपातमा बग्दाको झैं गिरिजा बाबू तिर हात हल्लाई हल्लाई उद्धारका लागि चिच्याई रहे, क्रमश: क्षीण हुदै गएको मेरो र मै जस्ताको आवाज उहाँबाट श्रवण भएन ।

टेक्ने समाउने कतै ठाँउ नभएको म नराम्रो गरी फसें । मुद्दा झेले । "अन्त भला तो सब भला" भने झैं अपमान र अवसादका केही बर्षपछि बिशेष अदालतले मलाई सफाई दियो । हिसाब गरेर मेरो सम्पति आय भन्दा बढी न रहेको भन्यो । राजनीतिका लागि मन मरि नै सकेको थियो । तरपनि लाग्यो..अब कमसे कम ईज्जतका साथ बाँच्न त पाइएँला ।

मुलुककै इतिहासमा पहिलो पटक संविधान सभाको निर्वाचन हुने भयो । अनिच्छा पूर्वक उम्मेदवारी दिए । म फेरी चुनाव जिते । सप्तरी जिल्लाबाट २०५१ र २०५६ पछि लगातार तेस्रो पटक बिजयी भएको थिए । जनताले न्याय गर्नु भएको थियो । मैले त राजनीति गर्नेको लागि अदालत वा न्यायालय भन्दापनि जनताको मतदानलाई नै न्याय ठानेको थिए ।

मैले न गर्नु पर्ने काम गर्न पुगे । पुष्प कमल दहाल प्रचण्डको पहिलो गणतान्त्रिक सरकारमा मंत्री भए । यो अर्को ठूलो गलती मैले गरें । यसपछि मैले नाई भन्दाभन्दै प्रम प्रचण्ड जी ले संबैधानिक परिषदको सदस्य तोकिदिनु भयो । यो परिषदले संबैधानिक पदहरूमा नियुक्तिको सिफारिश गर्दछ । पहिलो बैठकमै सर्वोच्च अदालतको प्रधान न्यायाधिशको नियुक्तिको सवाल आयो । प्रम प्रचण्डले मलाई खिलराज रेग्मीको नाम सिफारिश गर्न भन्नु भयो । न्यायाघिशहरूको वरियता क्रममा खिलराज तेस्रो हुनुहुन्थ्यो । पहिलोमा मीन बहादुर रायमाझि र दोस्रोमा अनुप राज शर्मा हुनुहुन्थ्यो । रामचन्द्र पौडेल संसदमा बिपक्षी दलको नेता भएकोले संबैधानिक परिषदको सदस्य हुनुहुन्थ्यो; उहाँ अनुप राज शर्माको पक्षमा रहनु भएको थियो । प्रचण्ड जीले मलाई खिलराज रेग्मीसंग भेट गराउनु भयो र उहाँ पछिसम्म सहयोग गर्नु हुने भएकोले प्रधान न्यायाधिशमा सिफारिश निम्ति सहयोग माग्नु भयो । म ठूलो दबाबमा परे । पहिलो दिनको बैठकमा म जानाजान अनुपस्थित भए, फलत: सो बैठकबाट निर्णय हुन सकेन । प्रचण्ड जीले चित्त दु:खाउनु भयो । मैले उहाँलाई संझाउने प्रयत्न गरे । अन्तत: मेरा हठका कारण पहिलो वरियतामा रहनु भएको मीन बहादुर रायमाझिको नाम नै सिफारिश भयो । रामचन्द्र पौडेल जी त अनुप राज शर्मालाई सिफारिश गरी बीचको बाटो रोजौं भन्नु भयो । तर, परम्परा मिचिए पछि अनुप राज किन ? खिलराज किन नाई ? यसको हेक्का पछि मात्र उहाँलाई भयो । मीन बहादुर जी कै नाम सिफारिश भयो । त्यस बखत सर्वोच्चका केही न्यायाधिशहरूले मलाई बडो प्रशंसाका साथ धन्यवाद दिनु भएको थियो, मीन बहादुर जीको भावुक धन्यवाद म आज पनि संझि रहेको छु । अनुप राज जी रिसाउनु भएन, तर खिलराज जी रिसाएको कुरा सुन्न थालियो ।

मीन बहादुर जी, अनुप राज रेग्मी र तत्पश्चात उनै खिलराज रेग्मी प्रधान न्यायाधिश हुनु भयो । रेग्मीको नजरमा मैले यस अघि प्रधान न्यायाधिश बन्नमा सहयोग नगरेको कुरा मेट्न सकेन । बास्तवमा उहाँले चाहेको बेला प्रधान न्यायाधिश बन्नु भएको भए रेग्मी नेपाल कै इतिहासमा सब भन्दा लामो समयसम्म सो पदमा रहने व्यक्ति दरिनु हुन्थ्यो । यसबाट उत्पन्न दु:खलाई उहाँले बिर्सनु भएन ।

मधेसी मोर्चा र माओवादीको सरकार गठन भयो । बिशेष उद्देश्यका खातिर यो सरकार बनेको थियो । म पनि मंत्री भए । मेरो दुर्भाग्य, म फेरी संबैधानिक परिषदको सदस्यमा मनोनित भए । प्रम डा. बाबुराम भट्टराई ले मलाई मनोनित गर्नु भएको थियो । प्रधान न्यायाधिश खिलराज रेग्मी पनि सदस्य हुनु हुन्थ्यो । मेरो मुद्दा पुनरावेदनको क्रममा सर्वोच्च अदालतमा विचाराधिन थियो । न्यायाधिश तप बहादुर मगरको इजलासमा हेर्दाहेर्दैको स्तरमा थियो मेरो मुद्दा । मेरो समेतको उपस्थितिमा संबैधानिक परिषदको दुई वटा बैठक भैसकेको थियो । कुनै अन्यथा प्रश्न उठेको थिएन । मलाई सबै कुरा सहज लागेको थियो । तर, मेरो निम्ति सहज रहेन । बिना मौसमको बाँसुरी बजेको झै अंग्रेजी समाचार दैनिक "दी हिमालयन टाईम्स" को मुख्य पृष्ठमा यौटा समाचार छापियो । समाचारको सार थियो; "जेपी गुप्ताको भ्रष्टाचार सम्बन्धि मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ र यिनै जेपी गुप्तासंग सर्वोच्च अदालतका प्रधान न्यायाधिश संबैधानिक परिषदमा बस्नु परेको छ । यस बारे प्रधान न्यायाधिश प्रधान मंत्रीसंग आफ्नो असंतुष्टी जनाउनु भएको छ ।" मैले यस समाचारका वारेमा "दी हिमालयन टाईम्स" मा बुझे, प्रघान न्यायाधिशका प्रेस सल्लाहकार थिए एक जना विमल नामका, उहाँले नै सो समाचार दिएको र छापिदिन अनुरोध गरेकोले छापिएको बताए ।

म फेरी जालझेलमा पर्न लागेको थिए । मेरो मुद्दा अदालतमा विचाराधिन रहेकै बेला यस अघि म संबैधानिक परिषदको सदस्य थिए । केदार गिरी प्रधान न्यायाधिश हुनुहुन्थ्यो । त्यस बखत यस्तो सवाल उठेको थिएन । उ बेला न्यायाधिश खिलराज जी ले पनि असहज मान्नु भएको थिएन । उहाँले त मलाई भेटेरै आफ्नो नामको सिफारिशका लागि अनुनय विनय गर्नु भएको थियो । यति बेला उहाँकै शहबाट यो प्रश्न उठेकोमा मलाई कुनै द्विविधा थिएन ।

मैले आसन्न संकटबाट डर माने । यस बिषयमा कुनै झंझट लिन चाहिन । प्रधान न्यायाधिशको अनिच्छा हुदाँहुदै म त्यस परिषदमा बसिरहन उचित देखिन । प्रधान मंत्री बाबुराम भट्टराईलाई भेटेर प्रधान न्यायाधिश जी को ईच्छा जान्न अनुरोध गरे र भने यदि रेग्मी जी चाहनु हुन्छ भने म राजिनामा दिन्छु, कृपया सोधी दिनोस् । दुई दिनपछि प्रम जी लाई भेटे, उहाँले रेग्मी जी को आशय भन्नु भयो । मैले संबैधानिक परिषदबाट राजिनामा दिए ।

तप बहादुर मगर स्वच्छ छविको तथा कसै प्रति पूर्वाग्रह नराख्ने न्यायाधिश भनी चिनिनु हुन्थ्यो । उहाँ कै बेंचमा मेरो मुद्दा चल्दै थियो । हुनुपर्ने सबै कुरो भैसकेको थियो । वादी प्रतिवादीको बहस जिकीर, प्रमाण बुझ्ने सबै भैसकेको थियो । निसु भन्छन् नि, निर्णय सुनाउने त्यति मात्र बाँकी थियो । न्यायाधिश तप बहादुर जी को अवकाश हुन धेरै बाँकी थिएन । निर्णय सुनाउने भनी तोकिएको पेशी सोही दिनको दैनिक कज लिष्टबाट हटन थाल्यो । लगातार तीन पटक निर्णय सुनाउने पेशी स्थगित गरियो । प्रधान न्यायाधिश खिलराज रेग्मीले तप बहादुर मगरबाट फैसला सुनाउन दिनु भएन । निरीह स्वरमा फाँटबाला उप रजिष्ट्रारले मलाई भने । अन्तत: न्यायाधिश तप बहादुर मगरले फैसला सुनाउन नपाइकनै पदावधि समाप्त भै अवकाश पाउनु भयो । म पुरै न्यायिक चक्रब्यूहमा परिसकेको थिए ।

खिलराज रेग्मी जी ले मेरो मुद्दा न्यायाधिश सुशीला कार्कीको डिविजन बेंचमा तोक्नु भयो । सम्पूर्ण कारवाही सकिएको र निसुको तहमा रहेको मुद्दालाई अब नयाँ न्यायाधिशले कसरी अगाडी बढाउनु हुन्छ ? यस प्रश्नमा दुबै पक्षका बीच छलफल हुन नपाउँदै न्या. सुशीला जी ले शुरू देखि नै पुन: मुद्दा हेर्ने आदेश दिनु भयो । बास्तवमा मेरा मुद्दा सुशीला जी ले हेर्नु उचित थिएन । मेरो र न्यायाधिश हुनु पहिले सुशीला जी को राजनीतिक आस्थाको आधारमा, समान राजनीतिक दलमा संलग्नताको आधारमा र उहाँ की पति दुर्गा सुबेदीसंगको मेरो राजनीतिक बैरभावका कारणले मैले तेसो भनेको थिए । सुशीला जी न्यायाधिश हुनुभन्दा केही पहिले कांतिपुर दैनिकमा एक लेख प्रकाशित गराउनु भएको थियो । भ्रष्टाचारका मुद्दा लगाईएकाहरूको बडो गैर न्यायिक आलोचना गरिएको थियो, यहाँसम्म कि यस्ता मानिसहरूको पक्षमा कुनै वकिलले बहस पैरवी समेत गर्न नहुने र छोटो प्रकृयाबाट फैसला गरी जेल पठाउनु पर्ने लेख्नु भयो । यस्तो गैर न्यायिक चरित्रको अभिव्यक्ति दिने व्यक्ति स्वयं न्यायाधिश भएर सोही मुद्दा हेर्नु पर्दा 'प्रिजीड्यूस' हुन्छ । यसर्थ, सुशीला जी ले यो मुद्दा हेर्नु हुन्न भन्ने मेरो अनुरोध सहितको जिकीर थियो ।

मुद्दा किन न हेर्नु ? उहाँले भन्नु भयो; म "प्रतिवादीसंग उहाँको हाडनाता छैन । फेरी जय प्रकाश ले भनेर के नै हुन्छ र ? यो मुद्दाको फैसला मैले नै गर्नु पर्ने हुन्छ ।" म संग कुनै उपाय थिएन । शिर निहुँराएर मैलै उहाँलाई न्यायकर्ता स्वीकार गरे । नागरिक दैनिक पत्रिकाको बार्षिकोत्सव थियो । सोल्टी होटेलको बडो ठूलो कार्यक्रममा संचार मंत्री भएकोले पनि होला, म पनि आमन्त्रित थिए । मेरो मुद्दामा शुरू देखिनै जोडिनु भएका बरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले कयौं मानिसका सम्मुख मलाई भन्नु भयो; "सुशीला जी ले किमार्थ पनि तपाईलाई न्याय गर्नु हुन्न् । तपाईलाई हराउनका निम्ति नै यो मुद्दा सुशीला जी लाई जिम्मा दिईएको हो। " तर, सुशीलाको घोर पूर्वाग्रहको घेराबाट मेरो मुद्दालाई बहिर्याउने कुनै उपाय म संग थिएन । जे आशंका थियो, सोही भयो । मैले बिशेष अदालतबाट सफाई पाएको मुद्दालाई उहाँले उल्ट्याई दिनु भयो । कुनै पनि बहालबाला मंत्रीलाई जेल पुर्याउने श्रेय उहाँले लिनु भयो । त्यस दिन विवेक की देवी भनी अपेक्षित सुशीला जी प्रतिशोध की चण्डी बन्नु भयो ।

भ्रष्टाचारको मुद्दामा चौघ महिना जेल बसे । मेरो अमिल्दो र विलासी जीवन शैली छ, आय भन्दा बढी अकूत सम्पति छ भनी ६८ लाख रूपियाको बिगो कायम गरिएको थियो । अदालतले खडा गरेको सम्पति मूल्यांकनको मापदण्ड अनुसार मेरो जायजेथा मध्ये ६८ लाख रू. को स्रोत मैले देखाउन सकिन । यहि रकम अकूत सम्पति भनिएको हो । बि.स. २०५९ पछि अख्तियारले म उपर १३ वटा मुद्दामा छानबिन गरेको थियो । कुनैमा मुद्दा चलेन । अनि कांतिपुर टिभीलाई इजाजत दिएको बिषयमा मुद्दा चलाए । यसमा सफाई पाउने देखिए पछि अन्तिममा अकूत सम्पतिको मुद्दा चलाइयो । सम्पतिको स्रोत देखाउने मुद्दा अख्तियार र अदालतको ब्रम्हास्त्र हो । अदालतले चाह्यो भने कोही पनि यसबाट जोगिन सक्दैन ।

यस मुद्दामा सजाय पाएपछि दुष्प्रभावमा त छदै थिए । तर, यौटा आश थियो; कुनै दिन जनताका बीच जान पाइएला । जनताको अदालतबाट न्याय पाइएला । तर, अब त्यसो नहुने भो । हालै संसदबाट पारित कानून अनुसार म सदाका लागि कुनै पनि तहको निर्वाचन लडन अयोग्य भएको छु । राजनीतिक दल खोल्ने र दलको सदस्य हुने योग्यता पनि रहेन । राजनीति मेरो पेशा थिएन, तथापि म अब निर्वाचित निकायका मार्फत सेवा पनि गर्न नसक्ने भएको छु । यसबाट म मौन र नि:शब्द भएको छु । 

 

अपवाद बाहेक राजनीति कसैको प्रारब्धको रूपमा चिरन्तर रहन सक्दैन ।

प्रतिकृया दिनुहोस
SITENAME

राष्ट्रपति भण्डारीद्वारा राजदुत नियुक्त

काठमाडौँ, २ वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपाली राजदुत रमेशप्रसाद खनाललाई सर्वियाका लागि समेत गैरआवासीय नेपाली राजदुतमा

SITENAME

मोदीको दलका एक सांसद विरुद्ध बलात्कारको आरोप, प्रहरीले सुरुग¥यो अनुसन्धान

नयाँ दिल्ली, २९ चैत : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक दल, भारतीय जनता पार्टीका एकजना सांसद विरुद्ध बलात्कारको आरोपमा अनुसन्धान सुरु

SITENAME

भारतमा फेरि अर्को दुर्घटना १८को मृत्यु १५ घाइते

नयाँदिल्ली, २७ चैत : भारतमा विद्यालय बस दुर्घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको भोलिपल्ट दुखद ट्रक दुर्घटना भएको छ ।  मंगलबार बिहान भएको